Sunday, April 15, 2018

उदयपुरमा साहित्यिक जमघट : मोहन दुवाल

यात्रा संस्मरण 

उदयपुर जिल्लामा पुग्न पाएको थिएन। यसपल्ट उदयपुरका साहित्यिक पत्रकारहरू माधव पोखरेल ‘गोज्याङ्ग्रे’, राममणि पोखरेल, पुण्य कार्कीहरूले हामी केन्द्रीय समितिका साहित्यिक पत्रकारहरूलाई बोलाइछाडे। उदयपुर, गाईघाटमा हुने साहित्यिक भेलामा हामी नगेन्द्रराज शर्मा (अभिव्यक्ति), रोचक घिमिरे (रचना), वियोगी बुढाथोकी (शिवपुरी सन्देश), नवराज पुडासैनी ‘ज्योत्स्ना’ (कल्पतरु), नवराज रिजाल (नव प्रज्ञापन), लक्ष्मी भट्टराई (साल्मली) र मोहन दुवाल (जनमत) थियौं।
बिहान ८ बजे बनेपाबाट गएका हामी ठीक ४ बजे गाईघाटमा पुग्यौं। गाईघाट नयाँ नगर बन्दै गरेको देखिन्छ। बजारका बाटाहरू फराकिला छन्, धूलो–धूँवारहित बनाउन सकेको खण्डमा निकै सुन्दर नगर हुने स्थिति देखिँदो छ। खोटाङबाट झरेकाहरू विशेष गरी यस बजार क्षेत्रमा बसोबास गरेका देखिन्छन्। भोजपुर, ओखलढुङ्गा, सप्तरी, सिराहातिरका मानिस पनि यस नगरमा बसोबास गर्दा रहेछन्। भित्री मधेस भएकै कारण यहाँ गर्मी बढिसकेको छ। बजारमा रुखहरू रोपिएका छन् तर व्यवस्थित ढङ्गले हुर्काउने प्रयास भएजस्तो देखिँदैन। प्रदेश नं. १ को यस नगरको विकासका आधारहरू धेरै छन्, काम गर्ने खालको नेतृत्वको प्रतीक्षामा सबै छन्।
मूल सडक छोडेर २५ किलोमिटर गुडेपछि गाईघाटमा पुगिने रहेछ। हामीलाई स्वागत गर्न उदयपुरका तीनजना चर्चा गर्नलायकका स्रष्टाहरू पुण्य कार्की, राममणि पोखरेल र माधवप्रसाद पोखरेल ‘गोज्याङ्ग्रे’ देखा परे। हात मिलाइयो। चिया–नास्ता खुवाएर बजार एक चक्कर घुमाइदिए। हामीलाई बस्न, खान व्यवस्था मिलाइदिएको रहेछ उदयपुर सिमेन्ट कारखानास्थित पाहुना घरमा। बजारबाट ७ किलोमिटर टाढा रहेछ उदयपुर सिमेन्ट कारखाना। बाहनको व्यवस्था पनि मिलाइदिएका कारणले हामीले कतै हिँड्नुपरेन।
२४ गतेदेखि २६ गतेसम्म त्यतै बस्ने भयौं। साँझतिर छिर्यौं पनि। सुनसान ठाउँ जहाँ सिमेन्ट कारखानाको घुनघुन आवाजमात्र सुनिदो छ। कोठा–कोठा चहार्यौं। तीनवटा कोठामा हामी मिलेर बस्ने भयौं। रोचक घिमिरे मेरा कोठा–मित्र बन्न तयार भए। जोडिएको बाथरुमभित्र नुहाउने पोखरी, मुख धुने टब–ऐनालगायत सबै रीत पुर्याएर मिलाइएको, तातोपानीलगायत खानासँग रोटी खानेसम्म व्यवस्था गरेको छ। कतै, कुनै किसिमको दुःख–बोध भएन। ३ सय एकड जग्गा ओगटिएको यस कारखानाबाट दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन हुँदोरहेछ। २ लाख बोरा सिमेन्ट भण्डारण गर्ने क्षमता भएको यस कारखानामा हाल ४ सय कर्मचारी सेवारत छन् भनी महाप्रबन्धक पौडेलले एकदिन बताए।
उदयपुरसँग उदयपुरकै भूमिमा पुगेर माया साटासाट गरेको यो पहिलोचोटि हो। उदयपुरका स्रष्टाहरूसँग साहित्यिक मन साट्न पाएको त धेरै पहिलेदेखि नै हो। पुण्य कार्कीभन्दा अघि मातृका पोखरेलसँग मेरो सम्बन्ध ज्यादै पुरानो हो। हाल यिनीसँग नेपाल साहित्यिक पत्रकार संघमा सँगसँगै यात्रारत छौं। यिनको कथासङ्ग्रह ‘सन्त्रस्त आँखाहरू’ २०६१ सालमा नै जनमत प्रकाशनबाट प्रकाशित भएको हो। २०६४ पुसमा जनमत मासिकमा ‘मातृका पोखरेल साहित्य विशेष’ प्रकाशित भएको स्मरण छ। उदयपुरमा नै शिक्षण सेवा गर्दै साहित्य लेखनमा राष्ट्रियस्तरमा नै विशिष्टता कायम गर्न सफल पुण्य कार्की जनमतको यात्राका लागि भरोसा लाग्दा मित्र हुन्। जनमतलाई उदयपुरमा पुर्याउने अभियानमा र जनमत प्रकाशनका पुस्तकहरू उदयपुरका क्याम्पस र विद्यालयमा पुर्याउने कर्ममा यिनले सक्दो गर्दै आएका हुन्। यिनका दुईवटा उल्लेखनीय निबन्धसङ्ग्रह ‘एउटा हर्कुलसको खोजी’ (२०६३) र ‘जागृत आँखाहरू’ (२०७३ कार्तिक) मा जनमतबाट प्रकाशित छन्। यिनका साहित्यसेवा र सिर्जना व्याप्त विशिष्टतालाई मापन गरेर जनमत मासिकको पूर्णाङ्क १३९ (२०६५ फागुन) मा यिनको नाममा जनमतमा ‘पुण्य कार्की साहित्य विशेष’ प्रकाशित छन्।
यसै गरी पछिल्लोपल्ट जनमतकै माध्यमबाट राममणि पोखरेल, गोठकृष्ण ठकुरी, दुर्गाप्रसाद काफ्ले, माधव पोखरेल ‘गोज्याङ्ग्रे’, तेजनारायण शेर्पा ‘रञ्जन’सँग साहित्यिक सम्पर्क र आफ्नो किसिमको माया गाँसिएको छ। टङ्कबहादुर आले मगरद्वारा लिखित ‘लाग्छ आकाश खस्दै छ’ कथासङ्ग्रह जनमत प्रकाशनद्वारा प्रकाशित तथा विमोचित कृति हो। यिनै आलेमगरसँगको साहित्यिक सम्पर्क पनि अविस्मरणीय छ। कलाकार आलेमगरका कलाकृतिहरू जनमतका पुस्तक पत्रिकामा प्रकाशित छन्।
उदयपुरका यी मित्रहरू दुर्गाप्रसाद काफ्ले, राममणि पोखरेल, पुण्य कार्की, माधव पोखरेल ‘गोज्याङ्ग्रे’का घरमा पुगेर सबैले चिया, बिस्कुट, हलुवा, फलफूल मात्र चाखेनौं, परिवारजनसँग पनि मन साटासाट गर्यौं। दुई दिन फागुन २५ र २६ गते गाईघाटमा साहित्यिक भेलामा रम्दाका क्षणहरू बिर्सिनसक्नु छ। २५ गते बिहान ८ः३० बजे त्रियुगा नगरपालिकास्थित बरुआ क्याम्पसमा क्याम्पस प्रमुख भीमबहादुर खड्का, राममणि पोखरेल, पुण्य कार्की, हीरामान मोते परियार, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, म मोहन दुवाल र वियोगी बुढाथोकीलगायतले ‘समाज रूपान्तरणका लागि विशेष भूमिका साहित्यले खेल्ने गर्छ’ भन्ने सम्बन्धमा बोल्यौं।
विचार राख्ने क्रममा भनें– ‘राजनीतिले भन्दा साहित्यले अप्रत्यक्ष किसिमले मान्छेमा चेतना फिँजाउँछ। राजनीतिले टुक्रा पारेको समाजलाई जोड्ने काम साहित्यले गर्छ।’ शहीद कवि कृष्णलाल अधिकारीदेखि धरणीधर कोइराला, युद्धप्रसाद मिश्र, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसादल रिमाल, लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचनलगायत धेरै कवि–लेखकले समाज रूपान्तरणका लागि साहित्यमार्फत विचार सम्प्रेषण गरेको चर्चा गरें। मैले आफ्नो विचार सुनाउँदै २०२९ सालमा नै ‘विगुल’ प्रतिबन्ध गरेर निरंकुश पञ्चायती शासनले सामाजिक रूपान्तरणमा साहित्यले खेल्न खोजेको भूमिकालाई छेकथुन गरेका सन्दर्भहरू सुनाइयो। क्याम्पस प्रमुख भीमबहादुर पाण्डेले नेपाल युवाविहीन देश हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोकथाम गर्ने कार्यमा साहित्यले भूमिका खेल्न सक्ने भन्दै सभा विसर्जन गरे। र, हामी सबै अतिथिलगायत उदयपुरका प्रतिष्ठित साहित्यकारहरू खाना खान हिमालय होटेलमा छिर्यौं।
खाना खाइसकेपछि त्रियुगा जनता बहुमुखी क्याम्पसको प्रायोजनमा हुने प्रतियोगितात्मक कवि–गोष्ठीमा पुग्यौं। ‘नव सिर्जना’ र ‘उदय मञ्जरी’ साहित्यिक पत्रिकाको संयोजनमा भएको उक्त कविगोष्ठीमा २१ जना कविले प्रतियोगितामा भाग लिए। ९ जना कविले अप्रतियोगी भएर कविता वाचन गरे। उदयपुरले मनग्गे कविता सुनाए। सबैजसो कवितामा सामाजिक जागरणका कुरा, राजनीतिक विकृतिका सन्दर्भ, सत्ता चलाउने पार्टीका नेताप्रतिका व्यङ्ग्य शैलीका कटाक्षहरू थिए। १ बजे शुरू भएको कविगोष्ठी ४ः१५ मा मात्र टुंगियो।
बिहान र दिनभर नै साहित्यिक चर्चामा र कविताको गुञ्जनमा समय गयो। फागुन २६ गते संगम पुस्तकालयको सभाकक्षमा १२ बजे कार्यक्रम सञ्चालन भयो। तेजनारायण शेर्पाबाट स्वागत मन्तव्य दिँदै शुरू भएको उक्त साहित्यिक कार्यक्रममा साहित्यकार पुण्य कार्कीले ‘नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा उदयपुरको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गरे। पुण्य कार्कीको संयोजकत्वमा सात सदस्यीय नेपाल साहित्यिक पत्रकार संघ, उदयपुर जिल्ला शाखाको गठन भएको घोषणा भयो। प्रतियोगितात्मक कवि–गोष्ठीको नतिजा घोषणा गरे। तेजनारायण शेर्पाका चारवटा पुस्तकहरू शरीर विज्ञान, जडीबुटी विज्ञान, आरोग्य विज्ञान, अक्षरको विमोचन भयो।
उदयपुर जिल्लाबाट प्रकाशित ‘नव सिर्जना’ र ‘उदय मञ्जरी’ साहित्यिक पत्रिका मिलेर साहित्यिक पत्रकारहरूको सम्मान गर्यो। दिनभरजसो चल्यो साहित्यिक कार्यक्रम। कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाले मन्तव्य व्यक्त गर्दै भने– ‘कानुन निरस विधा हो तर साहित्य रसमय विषय हो। साहित्य जीवनबोध गराउने विषय भएकोले जीवनलाई टपक्क टिप्न सके मात्र साहित्यको महत्व हुन्छ। त्यसैले, साहित्यकार मित्रहरूले जीवनबोध हुने सिर्जना रच्नुपर्छ।’ ३ बजेतिर सभापतिको मन्तव्य सुनेपछि हामी क्याम्पसबाहिर निस्क्यौं। र, दुईवटा ठूला टेम्पुमार्फत हामी उदयपुर सिमेन्ट कारखानाको पाहुनाघर छिर्यौं।
उदयपुरसँग केही गुनासो हाम्रो रहेन। केही जानेर वा केही नजानेर हामीबाट र उदयपुरबाट गल्ती भएको भए जेसुकै होऊन् भूलमा क्षमा भयो भनियो दुबैतर्फबाट। उदयपुर आँखा र मनमा साँचियो। थुप्रै साहित्यिक मनहरूसँग भावना साटियो। उदयपुरका साहित्य–स्वर भाषण र कवितामा सुनियो।
हाम्रा भावनाहरू उदयपुरमा पोखियो। उदयपुरमा रहेका श्रमिकपार्कमा निर्माण गरिएका मूर्ति–कलाहरू हेरियो। विक्रमश्रीको कलाकारितामा बुद्धले हथौडा समातिरहेको भव्य स्मारक र स्रष्टाहरूप्रति समर्पित स्मारकले बताइरहेझैँ लाग्यो– स्रष्टाको सम्मान हुनुपर्छ, त्यति राम्रो कला संयोजन भएको पार्कको संरक्षण नहोला भन्ने चिन्ता हामीमा छायो। किनभने मूर्तिहरू टुटेका, फुटेका, घोप्टो परेर सुतेका देखियो। मन नै रोयो। उदयपुरले उक्त पार्क रक्षा गरेको खण्डमा साँच्चिकैको उदयपुरको मुहार राष्ट्रमा देखिनेछ। उदयपुरले कला र साहित्यमा माया पोखिरहन सकोस्, शुभकामना छ।
http://www.newsofnepal.com बाट साभार 

No comments:

Post a Comment