Friday, October 17, 2025

उत्तम कुँवरले सिर्जेको रुपरेखा युग

 नेपाली आधुनिक साहित्यको इतिहासमा साहित्यिक पत्रिका रुपरेखाले पुर्‍याएको योगदान विशेष छ, विशिष्ट छ र ऐतिहासिक छ । यो बनाउने श्रेय साहित्यकार तथा साहित्यिक पत्रकार उत्तम कुँवरलाई जान्छ । रुपरेखाले यौटा साहित्यिक युग नै निर्माण गरेको थियो । गैर सरकारी क्षेत्रबाट निस्कने यो पत्रिकाले यौटा साहित्यिक युग निर्माण गर्नु चानचुने कुरा होइन । यसरी साहित्यिक युग निर्माण गर्ने रुपरेखा नै अन्तिम साहित्यिक पत्रिका थियो । त्यसपछि युग निर्माण गर्ने कुनै साहित्यिक पत्रिका नेपालमा देखिएको छैन ।

रुपरेखाका सम्पादक थिए, उत्तम कुँवर । तर उनको एकल सम्पादनमा निस्केको रुपरेखाले रुपरेखा युग निर्माण गरेको भने पक्कै होइन । उत्तम कुँवर र वालमुकुन्ददेव पाण्डेको संयुक्त सम्पादकत्वमा रुपरेखाले साहित्यिक युगको निर्माण गरेको थियो । तर वालमुकुन्ददेव पाण्डे आन्तरिक व्यवस्थापनमा र उत्तम कुँवर वाह्य व्यवस्थापनमा भएकाले बढी चिनिने, बढी हिमचिम हुने हुनाले उत्तम कुँवर नै बढी चिनिए, जानिए, मानिए ।
अर्को चाखलाग्दो कुरा के पनि छ भने, रुपरेखा पत्रिकाको सम्पादन प्रकाशन उत्तम कुँवर र वाल मुकुन्ददेवले थालेका थिएनन् । चलेकै पत्रिका उनीहरुले अघि बढाएका थिए । पछिपछि त रुपरेखा भन्नेबित्तिकै उत्तम कुँवर र वालमुकुन्ददेवको भन्ने मात्र ठान्न थालियो, कतिले उत्तम कुँवरको मात्र ठान्न थाले ।


नेपाली साहित्यका बिशिष्ट प्रतिभाहरु मोहन कोइराला, ध्रुवचन्द्र गौतम र पारिजात एक प्रकारले रुपरेखाकै उपज हुन् । रुपरेखाले नै उनीहरुलाई अविछिन्न र निशर्त स्थान दिएर आजका विशिष्ट प्रतिभामा गनिएका हुन् । यी प्रतिभाहरुको लक्षण चिन्ने खुवी उत्तम कुँवरमा थियो ।
सम्पर्क स्थापित गर्न, सम्बन्ध सुमधुर बनाउन र श्रोत जुटाउन उत्तम माहिर थिए । प्रतिभावान नेपाली लेखकका घरघरमा पुग्दथे उनी । लेख रचना जुटाउँथे । स्तम्भ लेखाउँथे । उनको सम्बन्धको तानाबाना साधारण हैसियतका लेखकदेखि राजदरबारसम्म विस्तारित थियो । शौखिन लेखक शंकर लामिछाने, आर्थिक अवस्था कमजोर भएका मोहन कोइराला र पारिजात, सीमापारिका शिखर पुरुष ईन्द्रबहादुर राई सबैलाई उनले आ-आफ्नै किसिमले व्यवहार मिलाएर नजिक राखेका थिए । केदारमान व्यथितसँग उनको आफ्नै प्रकारको सम्बन्ध थियो भने उदाउँदै गरेका मीनबहादुर विष्टलाई उनले ह्वात्तै रुपरेखाको रङ्गमञ्चमा स्थान दिएर छोटो समयमा चर्चाको शिखरमा पुर्‍याइदिएका थिए ।
उत्तम कुँवर कम लेख्तथे तर उनको लेखनमा बेग्लै विशेषता थियो, विशिष्ट शैली थियो । उनी रुपरेखामै अनुभव र अनुभूति स्तम्भमा लेख्तथे ।
उनले अन्तरवार्ताको यौटा यस्तो सङ्ग्रह तयार गरे, जसले नेपाली साहित्यमा कोशेढुङ्गाको काम गर्यो । “स्रष्टा र साहित्य” नामक नेपाली स्रष्टाहरुसँगको अन्तरवार्ताको पुस्तक जब बजारमा आयो, त्यसले व्यापक चर्चा परिचर्चा पायो । त्यति मात्र नभई मदन पुरस्कार पाएपछि साहित्यमा अन्तरवार्ता विधाले पनि मान्यता पाएको अनुभव गरे नेपाली साहित्यकारहरुले । अन्तरवार्ताका सम्वादहरुलाई उत्तम कुँवरीय शैलीमा ढालेर प्रस्तुत गर्दा परम्परागत अन्तरवार्ताको प्रश्नोत्तर शैलीलाई विस्थापन गर्न खोजेको भान पर्दथ्यो । यो पुस्तकको लोकप्रियता र विषयगत विविधता एवम् रोचकताले पाठकहरुलाई मात्र आकर्षण गरेन, विश्वविद्यालयको सहयोगी सामग्रीको रुपमा पनि मान्यता पायो र थप व्याप्ति पायो ।
यता रुपरेखाको उत्कर्ष भने २०० अङ्कमा देखा पर्‍यो । यस अङ्कमा राजा वीरेन्द्रसँग रुपरेखाका लागि नेपाली भाषा साहित्यका विषयमा लिइएको लिखित अन्तरवार्ता प्रकाशित भएको थियो । त्यो आफैँमा यौटा महत्त्वपूर्ण घटना थियो । यस अन्तरवार्तालाई नेपालका त्यतिखेरका सञ्चार माध्यमहरु रेडियो नेपाल र गोरखापत्रले प्रमुख समाचारको रुपमा प्रकाशन एवम् प्रशारण गरेका थिए । यही अङ्कमा रुपरेखा युगको विषद् चर्चा भएको थियो । रुपरेखाले बनाएको युगका कथा, कविता, उपन्यासको चर्चा गरिएको थियो । नेपाली भाषाका सवैजसो प्रमुख विद्वानहरुका विशिष्ट रचनाहरु सो २०० औं अङ्कमा प्रकाशित गरिएको थियो । यो नेपाली वाङ्मयकै यौटा दुर्लभ उपलब्धिका रुपमा चर्चा गरिएको प्रकाशन थियो । यो सबको मुख्य डिजाइनर उत्तम कुँवर नै थिए ।
यस अङ्कमा देशका प्राय: सबै प्रमुख उद्योग व्यवसायको परिचयात्मक विज्ञापन प्रकाशित भएको थियो र निकै मोटो रकम सङ्कलन भएको भन्ने साहित्यिक जगतमा कोठगफको विषय बनेको थियो ।
यो अङ्कले एकातिर साहित्यिक विशेषाङ्कको कीर्तिमान राख्न र राष्ट्रिय चर्चा पाउन सफल भयो भने यसै अङ्कको कारण लामो समयदेखि सामूहिक सम्पादनमा रहेको रुपरेखामा आन्तरिक विग्रह देखियो । रुपरेखाबाट वालमुकुन्ददेव पाण्डे अलग भए र रुपरेखा उत्तम कुँवरको एकलौटी सम्पादनमा निस्कन थाल्यो । किशोर कुँवर सहायकको रुपमा देखा परे ।


उत्तम कुँवर कट्टु लाएर काठमाडौं प्रवेश गरेको आफैँले लेखेका थिए । तिनै व्यक्ति मैजुवहालमा आलिसान महलका मालिक बने र गाडी चढ्ने साहित्यिक पत्रकार भए । यो पनि काठमाडौंको साहित्यिक वृत्तमा तातो तातो विषय बन्यो गफाडीहरुका लागि । उनले पुरानो भक्स वेगन किनेका थिए र आफैं चलाउँथे । एकपल्ट त्रिपुरेश्वरमा तत्कालीन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको अगाडि आफ्नै कम्पाउण्डमा लगाएको मकै कसैलाई कोशेली दिनका लागि आएका थिए र मसँग जम्काभेट भएको थियो, म त्यही केन्द्रीय कार्यालयमा काम गर्थें एकाउण्टेण्टको रुपमा । उनले “पोलेको मकै खान मेरो घर आउनुस् न है” भनेर खुल्ला निम्तो पनि दिएका थिए, तर उनको जीवन कालमा त्यो पूरा हुन सकेन ।
रुपरेखाले लेखकसँग गर्ने समताको व्यवहार पत्याउनै नसकिने देखिन्थ्यो । यसको सम्पूर्ण श्रेय उत्तम कुँवरलाई जान्छ । हो, केही लेखक भने रुपरेखाले लेखकलाई पारिश्रमिक दिंदैन भनेर पिठ्यूँ पछाडि कुरा नकाट्ने होइनन् । तर पारिश्रमिकको विषयमा उत्तम कुँवरको आफ्नै किसिमको सोच र मान्यता थियो । तर लेखकलाई फकाई-फुल्याई लेखाउन लगाउने, राम्रा र विशिष्ट लेखकहरुलाई निरन्तर सम्पर्कमा रहेर तथा आवश्यकताअनुसार आर्थिक लगायत विभिन्न सहयोग घरमै पुर्‍याएर पनि खुशी र सन्तुष्ट तुल्याउँथे । तर लेखनको मामलामा उनी लेखकीय स्वतन्त्रता हनन नहोस् भनेर सदा सचेत हुन्थे । त्यो रुपरेखा युगमा नाम र पारिश्रमिकका लागि मधुपर्क, नामका लागि र स्वतन्त्र लेखनका लागि रुपरेखा भन्ने आहानै चलेको थियो । लेखकमा दरिन मधुपर्क र रुपरेखामा छापिनु आवश्यक न्यूनतम योग्यता झैं मानिन्थ्यो अघोषित र अनौपचारिक रुपमा । तर राजाको प्रत्यक्ष शासन काल, सरकारी संस्थानबाट प्रकाशित हुने मधुपर्कका आफ्नै प्रकारका सीमाहरु थिए, बन्देजहरु थिए । तर रुपरेखा ती सबबाट मुक्त थियो, यद्यपि अन्चलाधीशको कार्यालयबाट पास नभई बजारमा बिक्री वितरणका लागि लैजान मिल्दैनथ्यो । तर पनि निजी क्षेत्रको रुपरेखा भने अलि खुकुलो नै थियो यस मामलामा ।
रुपरेखामा प्रकाशित रचनाहरुको बारेमा तिखो आलोचना, चोरीका आरोप आदि आए भने पनि उत्तम कुँवरले तिनलाई सम्मानपूर्वक ठाउँ दिन्थे । आफूले काखी च्यापेको लेखक भनेर छूट दिँदैनथे । तर उनले यस मामलामा मूल लेखकलाई आफ्नो स्पष्टीकरणको मौका भने राम्रोसँग दिन्थे । आरोप छापेर महिनौं हल्लीखल्ली भएपछि बल्ल अर्को महिनामा स्पष्टीकरण प्रकाशन हुँदा मूल लेखकलाई निकै क्षति हुनु स्वाभाविक हो । उनी त्यस्तो अवस्था आउन नदिन सचेत हुन्थे । त्यस्तो चिट्ठी आएपछि मूल लेखकको निवासमै गएर त्यो चिट्ठी दिन्थे र आरोप र स्पष्टीकरण एक साथ प्रकाशित गरिदिन्थे । शंकर लामिछानेलाई कुमुदिनी नामक छद्मनामबाट चोरीको आरोप लाग्यो । शंकरले त्यो आरोप स्वीकारे र साहित्यबाट संन्यास लिने घोषणा नै गरिदिए । पारिजातलाई विकास देवकोटा विराटनगरको छद्मनामबाट आरोप र तीव्र आलोचना आयो, पारिजातले त्यसको खुलस्त स्पष्टीकरण दिइन् । आयामको बारेमा अभि सुबेदी र ईन्द्रबहादुर राईको बौध्दिक बहस अर्को महत्त्वपूर्ण र चाखलाग्दो प्रसङ्ग थियो ।
२०३४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले देशव्यापि साहित्य सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनका लागि हरेक अञ्चलबाट २।२ प्रतिनिधिले प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको थियो । वागमती अञ्चलबाट प्रतिनिधित्व गर्ने २ प्रतिनिधिमध्ये उनी एक थिए ।
उत्तम कुँवरको साहित्यकारहरुसँग मात्र होइन, साहित्यिक संघसंस्थाहरु, प्रकाशन संघसंस्थाहरुसँग पनि राम्रो सम्बन्ध र उठबस थियो । उनी राम्रा र मनले खाएका साहित्यकारहरुका कृतिहरु प्रकाशनका लागि साझा प्रकाशनका महाप्रबन्धक कृष्णचन्द्र सिंह प्रधानलाई सिफारिस गर्ने गर्दथे । नेपाली साहित्यकै कीर्तिमानी दुर्बोध्य उपन्यास “बालुवामाथि” (ध्रुवचन्द्र गौतम) उत्तम कुँवरकै सिफारिसमा कृष्णचन्द्र सिंहले साझा प्रकाशनबाट प्रकाशित गराइदिएका थिए । तर त्यो उपन्यासले अपेक्षित पाठकीय माया पाउन सकेन । बिक्री पनि खासै नहुने कृति भयो । त्यसले कृष्णचन्द्रलाई हच्काइदिएको थियो । उनले पिटर जे. कार्थकको उपन्यास पनि प्रकाशनलाई सिफारिस गरे । त्यतिबेला कृष्णचन्द्रले हाँस्दै सोधेका थिए, “बालुवामाथि” जस्तो त होइन ?” उत्तमले “होइन, यो कृति गज्जबको छ” भनेका थिए । हुन पनि पिटर जे. कार्थकको उपन्यास “प्रत्येक ठाउँ प्रत्येक मान्छे” नेपाली उपन्यास जगतमा नौलो शैली, शिल्प र प्रस्तुतिमा दार्जिलिङको कथा बोकेर आएको थियो । अझ यस उपन्यासमा शङ्कर लामिछानेको भूमिकाले सुनमा सुगन्ध थपेको थियो । यो उपन्यासले पाठक, अध्येता सबको माया पायो । चर्चित भयो । राम्रो बिक्री भयो र साझा पुरस्कार समेत पायो । तर यसको जगमा उत्तम कुँवर थिए, जसको सिफारिसमा यो उपन्यास साझा प्रकाशनबाट प्रकाशन हुन सम्भव भएको थियो ।
उत्तम कुँवर रुपरेखालाई आफ्नो सन्तान भन्ने गर्थे । आफू मरे रुपरेखा टुहुरो होला भनी भावुक हुन्थे र सन्ध्याकालीन रसपानको बेला त भावुक मात्र होइन अति भावुक भएर रोइदिन बेर मान्दैनथे । उनले कमल दीक्षितवाट प्राणायाम गर्न सिकेको बताउने गर्थे र त्यसैले उनलाई बचाएको बताउने गर्थे । उनको प्रमुखताको केन्द्रबिन्दुमा सधैं रुपरेखा हुन्थ्यो । उनी पूर्ण रुपले रुपरेखामै समर्पित थिए ।
रुपरेखाको आफ्नै प्रेस थियो, रुपायन प्रेस । ढोका टोलको त्यो प्रेस साहित्यकारहरुको मिलनस्थल पनि थियो । पुरानो घरको छिंडीमा भएको प्रेसको होचो भुईंतलामा लेखकहरु पुग्दथे । साँझ कहिलेकाहीं रसपानको कार्यक्रम पनि हुने गर्थ्यो । रुपरेखा सामान्य विज्ञापन र ग्राहकशुल्कबाट चलेको थियो । कुनै विशेषाङ्कमा अलिक विज्ञापन आउनु र वचत हुनु एउटा कुरा थियो, नत्र पत्रिकाको कमाइले पत्रिका धान्न गाह्रो नै हुन्थ्यो । तर औरसपुत्र झैं मानेको रुपरेखालाई स्रोत जुटाउन विभिन्न उपायको खोजीमा उत्तमको दिमाग दौडिरहन्थ्यो । उनले आर्थिक स्रोत जुटाउन “रुपरेखा” संगीतको आयोजना गरे । कलाकारहरुसँग पनि राम्रो सम्पर्क भएकाले “रुपरेखा संगीत” भव्य रुपमा सम्पन्न भयो । म पनि रुपरेखा सङ्गीत हेर्न गएको थिएँ । राष्ट्रिय सभागृहको खचाखच हलमा “रुपरेखा संगीत”को कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
उत्तम कुँवरले नेपाली साहित्यिक पत्रपत्रिकाको ऐतिहासिक परिचयको निबन्धालेखमा शारदा पत्रिकालाई पिता, प्रगतिलाई पुत्र र रुपरेखालाई नातिको रुपमा मान्न सकिने भावना व्यक्त गरेका थिए । साँच्चै नै रुपरेखाले आफ्नो जीवनकालमा यौटा साहित्यिक युगको निर्माण गर्‍यो र त्यो उनको मनसायलाई मूर्तरुप पनि दियो । तर दु:खको कुरा रुपरेखा युगपछि साहित्यिक पत्रिकाले युग निर्माण गर्न सक्षम भएनन् । महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिकाको प्रकाशन भए पनि युग निर्माता भने कुनै पनि बन्न सकेनन् । साहित्यिक पत्रिकाको तर्फबाट उत्तम कुँवरले निर्माण गरेको युग नै अन्तिम युग थियो ।
जब उत्तम कुँवरले बेलाबखत रुपरेखामा लेख्ने गरेको स्तम्भका तथा अन्य आलेखहरुको सङ्ग्रह “अनुभव र अनुभूति” पुस्तक प्रकाशित भयो, पुस्तकको सन्दर्भ बाहिर गएर केही तीता र तीखा टिप्पणी गरिए । एउटा त्यस्तो टिप्पणी डा.तारानाथ शर्माले गरेका थिए गोरखापत्रमा । उनले गरेको टिप्पणीले उत्तम कुँवरलाई मर्माहत पारेको थियो । अनि त्यो टिप्पणीको काउण्टर टिप्पणी ईश्वरवल्लभले गोरखापत्रमै लेखे । तर उनको अमूर्त लेखाई सामान्य पाठकले बुझ्ने खालकै थिएन र प्रतिटिप्पणी जस्तो देखिएन पनि । यही किताबको यस्तै अन्तरद्वन्द्वका बीच २०३९ साल साउन १५ का दिन आफ्नै घरको शौचालयमा अचानक हृदयाघात भएर उनको निधन भयो । नेपाली साहित्य जगतले रुपरेखा युग निर्माण गर्ने साहित्यिक पत्रकार तथा निबन्धकार उत्तम कुँवरलाई असमयमै गुमायो ।


https://sahityapost.com  बाट 

Wednesday, August 20, 2025

निजी क्षेत्रको साहित्यिक पत्रकारिता - कृष्ण प्रधान

 


समाचार पत्रकारिताभन्दा जेठो साहित्यिक पत्रकारिताः

नेपालमा साहित्यिक पत्रकारिताको इतिहास समाचार पत्रकारिता (गोर्खापत्रको प्रकाशन १९५८ वैशाख) कोभन्दा तीन वर्षले पुरानो अर्थात् जेठो छ । १९५५ साउनमा ठहिँटी कामाडौँबाट पण्डित नरदेव र मोतीकृष्ण शर्माद्वारा सम्पादित र प्रकाशित सुधासागर नामक साहित्यिक पत्रिकाबाट आरम्भ भएको यसको इतिहास एक सय पच्चिस वर्ष पुगेको छ । यसपूर्व बनारसबाट प्रकाशित भनिएको र मोतीराम भट्टद्वारा सम्पादित गोरखा भारत जीवन पत्रिका सुधासागरभन्दा १२ वर्षपहिले नै प्रकाशित भएको भन्ने प्रमाणित तथ्यका अभावमा अहिलेसम्म सबैभन्दा पहिलो नेपालभित्रबाटै प्रकाशित र नेपाली भाषाको साहित्यिक पत्रिका भने सुधासागर लाई मानिँदै आएको हो । बनारस अर्थात् वारणासी वा काशी, नेपालीहरूका लागि धार्मिक स्थल र प्राचीन सांस्कृतिक गन्तव्य हो । त्यसका साथै नेपाली साहित्यिक पत्रकारिताको उद्गम स्थल पनि हो । शारदाको प्रकाशनपूर्व त्यहाँबाट सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१) आदि पत्रिका प्रकाशित थिए । साहित्यिक पत्रकारिताको आर्को महìवपूर्ण स्थल खरसाङ, दार्जिलिङ, कालेबुङ पनि थियो । खरसाङबाट सन् १९१८ जनवरीमा चन्द्रिका मासिक र पछि सन् १९५० मा दार्जिलिङबाट भारती मासिकले यो क्षेत्रमा पु¥याएको योगदानलाई लिन सकिन्छ । भारती पत्रिका प्रकाशन भएपछि मात्र भारतमा नेपाली भाषालाई सरकारी मान्यता दिएको कुरा पारसमणि प्रधानले लेखेका छन् ।  

नेपालमा प्रेसको स्थापनासितै साहित्यिक पत्रिकाको प्रकाशन पनि आरम्भ भएको देखिन्छ । पहिलो प्रेस पाशुपत प्रेस, पशुपति छापाखाना (१९५३) मा सुधासागर छापिएको भन्ने भनाइ रहेको भए पनि त्यस पत्रिकाको स्थूलप्रति भने नभेटिएकाले प्रेस काउन्सिल, नेपालले शारदा पत्रिका (१९९१ फागुन) लाई नै नेपालभित्रबाट प्रकाशित भएको पहिलो नेपाली भाषाको पत्रिका भनेको छ ।  गोरखा भारत जीवन काबारेमा तथ्य प्राप्त हुने हो भने साहित्यिक पत्रकारिताको इतिहास १३७ वर्षको हुने छ । यसरी नेपालमा समाचार पत्रकारिताभन्दा पनि जेठो छ साहित्यिक पत्रकारिता तर यति लामो कालखण्ड बितिसक्दासमेत सरकारी दृष्टिकोणमा भने साहित्यिक पत्रकारितालाई पत्रकारिता नै होइन भन्ने जस्तो अनुभूत हुन्छ । तिनका नजरमा पत्रकारिता भनेको समाचार पत्रपत्रिकाले गर्ने कार्यकलापलाई मात्र भन्ने देखिएको छ । यो दृष्टिकोणमा परिवर्तनको आवश्यकता छ ।


के साहित्यिक पत्रकारिता अनुत्पादकै हो ?

साहित्य, कला र सङ्गीतलाई देशको गहना भनिएको छ । यसको उपस्थितिले कुनै पनि देशको सांस्कृतिक गरिमा उँचो मात्र हुन्न, यो क्षेत्रको विकास भएको देशको प्रतिष्ठा नै आर्कै हुन्छ । यति हुँदाहुँदै पनि यो क्षेत्रमा लागेका र लाग्नेहरूलाई खासै संरक्षण, प्रस्रय र प्रोत्साहन देखिन्न । हो, राज्यले ती क्षेत्रको विकासका लागि भनेर तीन किसिमका प्रज्ञा प्रतिष्ठान गठन त गरेको छ तर ती अचेल राजनीतिक दलीय भागबण्डाका कारण प्रज्ञाका सही पात्र त्यहाँसम्म पुग्न सकेका छैनन् । पुगिहाले पनि ती कुनै दलीय पुच्छर लगाएर बसेका हनुमान जस्ता भएका कारण तिनको प्राज्ञिक क्षमतामाथि नै विश्वस्त हुन सकिँदैन । सरकारको लगानी भनेको तिनै प्रतिष्ठान गठन र त्यहाँका कर्मचारीको पालनपोषणमा बढी देखिने र साहित्यका उन्नयनमा चाहिँ कम देखिने किसिमको आम अनुभूति छ । 

वर्तमान समयमा नेपाली साहित्य र साहित्यिक पत्रकारिताको कुरा गर्दा सरकारी प्रतिष्ठानबाट हुने कार्यकलापभन्दा सयौँ गुणा बढी काम निजी क्षेत्रबाट भइरहेको तथ्यमा विमति छैन । पुस्तक प्रकाशन होस् वा पुरस्कारको व्यवस्था होस् वा साहित्यिक पत्रिका प्रकाशन र अन्य साहित्यिक गतिविधिका कुरा नै किन नहोऊन्, ती सबैमा निजी क्षेत्र धेरै अगाडि छ । यस्तो लगानीलाई साहित्य र साहित्यिक पत्रकारिताको विकासका लागि निजी क्षेत्रको स्वतस्फूर्त भएको लगानी मान्नु पर्छ । भलै त्यस्तो लगानीको तत्काल प्रतिफल नहोला त्यसले दीर्घकालीन रूपमा देशलाई नै गुण लगाएको हुन्छ । यस्तो लगानीलाई सेयरमा दिइने लाभांश प्रतिफलसित तुलना गर्न मिल्दैन । अनुत्पादक क्षेत्र नै सही तर त्यसको विकासमा लागिपरेका साहित्यको उन्नयन र समसामयिक साहित्यिक गतिविधिलाई निरन्तर पच्छ्याइरहेका र तिनको सूचना सम्पे्रषण गरिरहेका निःस्वार्थ समर्पित साहित्यिक पत्रिकालाई भने सरकार वा राज्यले आफ्नो प्राथमिकतामा कहिल्यै राखेको पाइएन, देखिएन । साहित्य, कला, संस्कृति आदि भनेर नाक ठुलो पार्दै हिँड्ने राज्य वा सरकारले एकेडेमी ( नेपाल प्रज्ञा प्रतिष्ठान) बाट वितरित हुँदै आएको राष्ट्रिय स्तरका जम्मा ११ वटा पुरस्कारको व्यवस्था  गरिएको छ भनेर गर्व गरेको देखिन्छ । तर यसै क्षेत्रमा तीभन्दा सयौँ गुणा बढीका पुरस्कारको व्यवस्था गरेका र त्यसमा कुनै सरकारी दायित्व नभएका पुरस्कार र सम्मानप्रति भने अहिलेसम्म पनि एक शब्द खर्च गर्नमा उदारता देखाएको पाइँदैन । साहित्यिक पत्रकारिताकै क्षेत्रमा पनि निजी क्षेत्रले राखेको र वितरण गर्दै आएको पुरस्कारको सङ्ख्या निकै नै छ । 


साहित्यिक पत्रिकाको थालनी सजिलो तर टिकाउन गाह्रोः

राणाकालीन समयमा नेपालभित्रबाटै १९९१ सालदेखि प्रकाशित भएको शारदा (मासिक) नहुँदो हो त सम्भवतः लेखनाथ युगभन्दा अलग युग, जसलाई आधुनिक नेपाली साहित्यको जग बसाउने युग भनेर चिनाइन्छ, को उदय पनि हुनेथिएन । शारदाको उदयका बेला स्थापित साहित्यकारहरू लेखनाथ, देवकोटा, बालकृष्ण सम, सिद्दिचरण, भीमनिधि तिवारी, केदारमान व्यथित, युद्धप्रसाद मिश्र, पुष्कर शमशेर जस्ता साहित्यकारको थप साहित्यिक व्यक्तित्वको उजागर नहुँदो पनि हो । गोपालप्रसाद रिमाल, गोविन्द मल्ल, विजय मल्ल, भवानी भिक्षु, रत्नध्वज जोशी जस्ता साहित्यकारको लेखन भूमिमा शारदाको महìवपूर्ण योगदान रहेको छ । २००७ सालपछिको प्रजातन्त्रकालीन समयमा प्रगति, धरती, हिमानी, बगैँचा, मुकुट, सिउँडी जस्ता साहित्यिक पत्रिकाले पनि नेपाली साहित्यको आधुनिक युग भिœयाउनमा योगदान गरेका छन् । तथापि शारदा पत्रिका जस्तै ती धेरै लामो कालसम्म टिकेका देखिँदैनन् । 

उल्लिखित सबै पत्रपत्रिका एकल वा निजी प्रयासले चलेका थिए । आज प्रकाशन निरन्तरतामा छैनन् तथापि तिनका साहित्यिक योगदान भने अमूल्य छ । राणकालीन समयको त कुरै नगरौँ शारदा को प्रकाशन त्यो समयको एक माइलस्टोन नै हो साहित्यिक पत्रकारितामा क्षेत्रमा । चालिस जना जाँचकीबाट लेख रचना सेन्सर गरेर नेपाली भाषा प्रकाशिनी समितिबाट पास गरेपछि मात्र पत्रिका प्रकाशन गर्न पाइने  त्यो समयलाई फर्केर हेर्ने हो भने सुब्बा ऋद्धिबहादुर मल्लको साहित्यिक पत्रकारिताको कामको मूल्याङ्कन कुनै राशि वा रकमले गर्न सकिँदैन । त्यो अद्वितीय साहस नै थियो । साँच्चै भन्ने हो भने शारदाको प्रकाशन र त्यसको निरन्तरता दिने ऋद्धिबहादर मल्ल साहित्यिक पत्रकारिताको क्षेत्रबाट राष्ट्रिय विभूतिले सम्मानित गर्नुपर्ने नाम हो । २००७ देखि २०१७ सम्मको समय राणकालीन उकुसमुकसबाट भर्खरै राजनीतिक उन्मुक्तिको सास फेरिरहेको समय हो । यस कालमा नेपालबाट प्रगति (नारायण बाँस्कोटाद्वारा सम्पादित, २००९), धरती (ईश्वर बरालद्वारा सम्पादित, २०१३), इन्द्रेनी (ईश्वर बराल, माधव घिमिरेद्वारा सम्पादित, २०१३) जस्ता केही राम्रा पत्रिका प्रकाशित भएका हुन् तर दिगो भएनन् । २०१७ पछिको समय भनेको पञ्चायतकालीन अधिनायकी राजनीतिक धरातलमा हुर्केको समय हो । जुनबेला साहित्यिक पत्रिका निकाल्न ठुलै हिम्मत चाहिन्थ्यो । त्यस्तो समयमा पनि रूपरेखा (२०१७, असार–साउन, बालमुकुन्ददेव योगेन्द्रनाथ अर्यालपछि उत्तम कुवँरद्वारा सम्पादित), रचना (रोचक घिमिरेद्वारा सम्पादित, २०१८), भानु ( भवानी घिमिरेद्वारा सम्पादित, २०२० असोज) । रत्नश्री (मदनदेव, शान्तदेव भट्टराईद्वारा सम्पादित, २०२०, भदौ–असोज) जस्ता पत्रिका प्रकाशन हुनु र तिनले नेपाली साहित्यको समसामयिक लेखनलाई उजागर गर्दै साहित्यिक योगदान पु¥याएको कुरा बिर्सन मिल्दैन । रूपरेखा र रत्नश्री आज बन्द छन् । आरम्भमा मासिक रूपमा प्रकाशन भएको रचना हाल द्वैमासिकको प्रकाशन निरन्तरता कायमै छ । रचना एकल व्यक्तिको प्रयासबाट लामो समयसम्म निरन्तर प्रकाशन (विगत ६२ वर्षदेखि) भइरहेको एक मात्र साहित्यिक पत्रिका हो । वास्तवमा आधुनिक नेपाली साहित्यको श्रीवृद्धिमा शारदा र रूपरेखा पत्रिकाको योगदानको स्थान उँचो छ भने पुराना पत्रिकाहरूमा धेरै अङ्क (एक सय अङ्कभन्दा बढी) प्रकाशन गर्ने सीमित पत्रिकामा तिनलाई अलग्गै रूपले मूल्याङ्कन गर्नु पर्छ । किनभने एउटा साहित्यिक पत्रिकाले सय अङ्क निरन्तर प्रकाशन गर्नु भनेको एउटा इतिहास निर्माण गर्नुसरह हो । शारदाले १८७ वटा अङ्क प्रकाशन गरेको र रूपरेखा पत्रिका २०४५ सालपछि प्रकाशन बन्द भएकाले यसको कुल प्रकाशन अङ्क करिब तीन सय देखिन्छ । 

शारदाकालीन समयले सिर्जेको साहित्यिक समयलाई पत्रपत्रिकाको इतिहास कोर्नेहरूले शारदा युग (१९९१–२०१७) भनेर चिनाउने गरेको पाइन्छ । उसै गरी २०१७ पछिको लामो कालखण्डलाई रूपरेखा युग (२०१७ देखि २०४५ ? सम्म) भनेर चिनाउने चलन छ । कवि, नाटककार तथा समालोचक अभि सुवेदीका अनुसार यी दुई पत्रिका नेपाली साहित्यका छाहारी हुन्, रङ्गमञ्च हुन् र चौतारी हुन्, जहाँ सबै सुस्ताउन पाउँछन् ।  रूपरेखा (पहिले त्रैमासिक , द्वैमासिक हुँदै पछि मासिक) ले २६५ अङ्कभन्दा बढी नियमित अङ्क प्रकाशन गरेर तर कुनै पनि संयुक्ताङ्क (अङ्क नखप्ट्याईकन प्रकाशन गर्ने चलन) प्रकाशन नगरेर, एउटा मानक इतिहास पनि रचेको हो । रूपरेखा पत्रिकाको आकारका कारण त्यो बेला कुनै पुस्तक छपाउनु पर्दा रूपरेखा साइज भनेर चिनाउने पनि गरिन्थ्यो । यो सो पत्रिकाले आर्जेको प्रतिष्ठा हो । एउटा मासिक पत्रिकालाई सय अङ्क प्रकाशन गर्न करिव ९ वर्ष लाग्छ । उसै गरी द्वैमासिकलाई त्यो मानक पु¥याउन करिब १८ वर्ष लाग्छ । राणाकाल र पञ्चायतकालीन समयमा निरन्तर साहित्यिक पत्रिकाको प्रकाशन हुनु नै अनौठो मानिन्थ्यो । त्यसरी प्रकाशन गर्न सकेका निजी क्षेत्रका पत्रिकाहरू अत्यन्त थोरै सङ्ख्यामा छन् । रूपरेखा, भानु, रचना र अभिव्यक्ति त्यही व्रmममा परे पनि रूपरेखा र अभिव्यक्तिबाहेक अन्यका प्रकाशन उस्तो नियमित देखिएनन्, जसोतसो हिँडिरहे मात्र । खास गरेर त्यो कालमा सामयिक सङ्कलन जस्ता पत्रिका राजारानीको जन्मोत्सवका समयमा र दसैँ तिहार जस्ता चाडबाडमा विज्ञापनका लोभले प्रकाशन भएका देखिए पनि जीवन्त हुन सकेनन् । सरकारका संस्थागत निकाय गोरखापत्र संस्थानबाट प्रकाशन हुने मधुपर्क (२०२५) होस् वा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने प्रज्ञा वा कविता होस् वा नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित हुने मिर्मिरे (२०२९) होस्, तिनका प्रकाशनमा वित्तीय अभाव नहुने कारण ती दिगो गरी चल्नु भनेको एउटा अलग कुरो हो तर व्यक्तिगत प्रयास र गोजीको लगानीबाट साहित्यिक पत्रिका निकाल्नु भनेको आर्को पहाड खोद्नु बराबरै हो । रूपरेखा लगायत भानु पत्रिकाले ऊ बेला ग्राहक अभियान, खास गरेर आजीवन सदस्यता बनाउने अभियान नै सञ्चालन गरेका हुन् । त्यसबाट जसोतसो पत्रिकाका लागि केही रकम जोहो हुने भए पनि त्यतीका भरले मात्र पत्रिका प्रकाशनलाई नियमितता दिन गाह्रो हुन्थ्यो । कतिपय पत्रिका त ग्राहक बनाउने तर नियमित ननिस्कने गर्दा एक पटक ग्राहक बनेपछि त्यसलाई नवीकरण नगर्ने हुन्थे । त्यसैका कारण कुनै नयाँ पत्रिका निस्की हाले पनि तिनले अरू ग्राहक बनाउन सक्दैनथे । कुनैताका रूपरेखा लगायत भानु पत्रिकाले विभिन्न स्थानमा प्रतिनिधिको व्यवस्था गरी ग्राहक, विज्ञापन सङ्कलन गरी पत्रिका बचाउने उपाय नगरेका होइनन् तर त्यस्ता प्रतिनिधि स्वयंसेवामा हुन्थे, साहित्यप्रति लगाव हुनेहरू रचना प्रकाशन हुने आसमा ।

पत्रिकालाई टिकाएर लैजान गाह्रो हुन्छ । आरम्भ गर्दाको जाँगर सधैँ एकनास टिकाएर राख्न नसक्नेले वा हरेश खानेहरूले वा लगानीको प्रतिफल मात्र खोज्नेहरूले साहित्यिक पत्रिका टिकाउन सकोइनन्, यो यथार्थ हो । यो उत्पादक भइदिएको भए सायद टिक्थ्यो पनि होला तर यसलाई बचाउने भनेकै कहिले हरेश नखाने सम्पादक, प्रकाशक, तन, मन र धनले साथ दिने शुभेच्छुक, विज्ञापन दाता र स्थायी ग्राहक सदस्य हुन् । यसको स्थायी वा भरपर्दो आर्थिक तथा वित्तीय स्रोतको जगेडा नभएसम्म पत्रिका बिव्रmी गरेर त्यसको खर्च धान्छु भन्नु आकासकै फल बराबर हो । जे जति साहित्यिक पत्रकारिताको क्षेत्रमा काम भइरहेको छ, नितान्त सम्पादक र प्रकाशकका रुचि, सोख वा साहित्यप्रतिको लगावले नै हो । समालोचक तथा निबन्धकार कृष्णचन्दसिंह प्रधानले भनेका छन्, नेपालमा साहित्यिक पत्रकारितालाई सरकारले कहिले उत्पादक भनेर मानेको छैन नै तर एउटा कुरा के सत्य हो भने अनुत्पादक भए पनि साहित्य र संस्कृतिको फाँटमा नेपाल आत्मनिर्भर भने छ ।  हो, नेपाली साहित्यको वर्तमानसम्मको युग निर्माण र सयौँ साहित्यकारको जग निर्माण र तिनका विकासमा सारथि बन्ने साहित्यिक पत्रकारितालाई कम आँक्न सकिँदैन । 

साहित्यलाई उत्पादक र अनुत्पादक भनेर मापाङ्कन गर्ने नै होइन, यो त राष्ट्रकै धरोहर हो । साहित्यको विकासमा आधारभूमि प्रदान गर्ने साहित्यिक पत्रकारितालाई आजसम्म पनि उत्पादक क्षेत्र हो भनेर न सरकारले भनेको छ न कुनै नियामकीय अङ्गले त्यसका नीति अगाडि ल्याएको छ । साहित्यिक पत्रिकाका सम्पादक र प्रकाशकहरूको संस्था नेपाल साहित्यिक पत्रकार सङ्घ (२०६३) र साहित्यिक पत्रकार सङ्घ (२०२९) हरूको दबाबमा पे्रस काउन्सिल, नेपालले यता पछिल्लो समयमा सो काउन्सिलमा एक जना साहित्यिक पत्रकारको प्रतिनिधित्व गराउँदै आएको र साहित्यिक पत्रिकाहरूको वर्गीकरणको काम गर्दै आएको एवं सोही वर्गीकरणका आधारमा ती पत्रिकाहरूले काउन्सिलबाट वार्षिक एकमुष्ट कल्याणकारी विज्ञापन सहयोग पाउँदै आएका छन् । तर यस खाले सहयोगले पत्रिकालाई केही भरथेग मात्र हुने हो, सबै खर्च व्यवस्थापन हुन सक्दैन भन्ने अधिकांश साहित्यिक पत्रकारहरूको धारणा छ । 

अधिनायकवादको समयको कुरा त अलग्गै हो अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समयमा समेत राज्यले यो क्षेत्रलाई संरक्षण र प्रवर्धन गरेर लान सकेको देखिएन । खास गरेर निजी क्षेत्रका साहित्यिक पत्रिकाहरूको अवस्था दयनीय त नभनौ व्यावसायिक र दिगो बन्न नसकेका देख्दा लाग्छ यसमा गर्न धेरै चुकेको छ । एक हिसाबले भन्ने हो भने यो क्षेत्रमा लागेकाहरू रहर, त्याग र साहित्यप्रतिको समर्पण भावले मात्र लागेका छन् । मूलतः संस्थागत र कुनै सरकारी वा स्वायत्त निकायबाट प्रकाशन भइरहेका साहित्यिक पत्रिकालाई त्यस किसिमको असहजता नभए पनि निजी र अझ व्यक्तिगत तवरबाट प्रकाशन हुँदै आएका साहित्यिक पत्रिकाको हालत भने लगभग कमाउनेभन्दा पनि सामाजिक र विशुद्ध साहित्यिक स्वयंसेवा जस्तो मात्र अनुभव भइरहेको छ । 

साहित्यिक पत्रिका चलाएर कमाउने कुरा त परै जाओस् तिनको बिव्रmीबाट लागत (छपाई खर्च) सम्म पनि उठाउन सकिँदैन । साहित्यिक पत्रिका बिव्रmी भएर आउने कल्पनासम्म पनि गरिएको पाइन्न । अर्थात् पत्रिका पसल वा बिव्रmी एजेन्ट नै हुन्, तिनले पत्रिका बिव्रmी भएर पैसा सम्पादक प्रकाशककहाँ पठाउने गरेका उदाहरण बिरलाकोटी छन् । यसको अर्थ सबै एकै छन् भन्न खोजेको होइन, कतिपय इमानदार एजेन्ट पनि पाइन्छन् । 

कुनै साहित्यिक पत्रिका पत्रपत्रिका पसलतिरबाट उधारो वा सित्तैँमा किन्दैनौँ, पैसा तिरेरै किन्छौँ । म मधुपर्कको नियमित पाठक हुँ । यो पत्रिका करिब २०३० को आरम्भदेखि नै किन्दै आएको छु । मैले उधारो कहिले किनेको छैन । तर सामान्यतया साहित्यिक पत्रिका बिव्रmी भएर रकम फिर्ता भएको कुरा चाहिँ सबै सम्पादक, प्रकाशक हत्तपत्त स्विकार्दैनन् । यसै कारण अचेल धेरैजसो साहित्यिक पत्रिकामा स्थायी ग्राहक र आजीवन सदस्य बनाउने प्रचलन बढ्दो छ । कतिपयले चन्दा त नभनौँ स्वेच्छिक सहयोगका माध्यमले अक्षय कोष बनाउने र त्यसरी प्राप्त रकमलाई कुनै वित्तीय संस्था ( सहकारीमा समेत) मा राखी त्यसको ब्याज आर्जनबाट पत्रिकाको प्रकाशन लागत धान्ने काम गरेको देखिन्छ । जस्तै विगत बाउन्न वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्ति (द्वैमासिक) ले यस्तै अक्षय कोषको प्रणाली अवलम्बन गरेको छ । यो निकै राम्रो थालनी हो । तर बैङ्क, वित्तीय संस्थाको ब्याज तलमाथि भइरहने कारण यस्ता कोषमा प्रदत्त ब्याजमा उतारचढाव आउँदा पत्रिका प्रकाशनका लागि आवश्यक पर्ने आर्थिक व्यवस्थापनको स्थायी चाँजोपाँचो मिलाउने काम पनि तलमाथि हुनु स्वाभाविकै हो । 

यसै गरी बढी ब्याजका लोभले सहकारी संस्थाहरूमा राखिएका यसखाले कोषका रकम नै डुबेका उदाहरण पनि छन् । अहिले सहकारी एक प्रकारका ठगीखाने भाँडोका रूपमा समेत चित्रित हुन थालेका छन् । कतिपय पत्रिकाले केही विज्ञापनबाट पनि रकमको जोहो गरेका देखिन्छ । तर एसको अनुभव निकै तितो रहेको कुरा अधिकांश सम्पादक प्रकाशकहरूको छ । विज्ञापनका लागि हात पसार्नु भनेको भिख माग्नु जस्तै हो भन्ने तिनका अनुभव छन् । भिख भन्ने कुरा दिनहुँ वा पत्रिकाको हकमा प्रकाशन हुने अवधिका लागि (मासिक, द्वैमासिक आदि) मागिने कुरा पनि हुँदैन । भएन, यो विज्ञापन भन्ने विषय सामान्यतया निजी सम्बन्धका सम्पर्कमा उपलब्ध हुने कुरा रहेकाले सरकारको उदासीनता रहेसम्म त्यो सबैका लागि सहज नहुन सक्छ । यसैले साहित्यिक पत्रिकामा विज्ञापन पाइहालेमा त्यो चिठ्ठा पाएसरह नै हुन्छ भन्ने धेरैको अनुभव छ । 

निजी क्षेत्रका साहित्यिक पत्रकारितामा आज पनि उही एक सय पच्चीस वर्ष अगाडिको साहित्यिक पत्रकारिताको दुःख दर्द कायमै देखिन्छ । सम्पादक र प्रकाशक हिँड्यो त यो पनि हिँड्यो । ऊ हलचल गर्न सकेन भने पत्रिका पनि हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । 

000

मञ्जरी भिलेज, इमाडोल, ललितपुर 

https://gorkhapatraonline.com बाट साभार 

सिन्धु साहित्यिक पत्रकारिता - सुरेश कसजू

 


साहित्य भनेको भाषाद्वारा अभिव्यक्त हुने अनुकरणात्मक कला हो । साहित्य वास्तवमा कठिन, जटिल र व्यापक विषय हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज रुपान्तरणको औजार पनि भनिन्छ ।

साहित्यको यस भूमिकालाई अगाडि बढाउने यसका पूर्वाधार भनेका पत्रपत्रिकाहरु हुन् । स्रष्टाका साहित्ययात्राको प्रारम्भिक पाठशाला यिनै हुन् । त्यसमाथि साहित्यिक पत्रकारिता आम पत्रकारिता क्षेत्रको विशेष अङ्ग पनि हो । सिर्जनात्मकता, बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता, यथार्थपरकता यसका विशेषता हुन् । भाषाको विकास र सांस्कृतिक निकाशमा पनि यसकै हात रहेको हुन्छ ।

सिन्धुपाल्चोकमा साहित्य लेखनको प्रार्दुभाव भएसँगै साहित्यिक पत्रकारिता पनि सुरु भएको हो । जिल्लाबाटै भने २०३५ सालबाट साहित्यिक पत्रकारिता प्रकाशन भएको देखिन्छ । सिन्धु साहित्यिक पत्रकारिताको आयामसँग हाम्रो संस्था दु:खी प्रकाशन र त्यससँग सम्बद्ध व्यक्तिहरुको नाम पनि जोडिन पुग्ने भएकोले यसबारे केहि चर्चा गर्न उपयुक्त ठान्दछु ।

४० को दशकको सुरुवातसम्ममा सिन्धुपाल्चोकबाट दुई वटा साहित्यिक पत्रिका प्रकाशन भइसकेका थिए । तर नियमित हुन सकेको थिएन । जनआन्दोलनको राप र ताप कामयमै थियो । यो अवस्थामा हामीले(केशवलोचन शर्मा, स्व. ईश्वरी कक्षपति र पंक्तिकार) जिल्लामा साहित्यिक गतिविधि बढाउने सल्लाह गर्‍यौं । सल्लाह मुताविक २०४७ को सुरुवातमै जुगल वार्षिक साहित्यिक संकलन’ प्रकाशन गर्‍यौं । जुगल सांस्कृतिक परिवारबाट प्रकाशित यो पत्रिकाको पहिलो अङ्क हामीले २०४६ मै प्रकाशन गर्न लागेका थियौं, तर राजनैतिक उत्तरचढावका कारण प्रकाशन हुन सकेन र झण्डै १ वर्ष ढिला हुन पुग्यो । जुगलको प्रकाशन पछि हामीमा साहित्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने जोश थपियो । लगत्तै हामी (केशवलोचन शर्मा, मोहन कुँवर र पंक्तिकार) मिलेर २०४७ मै सिन्धु जमर्को त्रैमासिक प्रकाशन सुरु गर्‍यौं ।

अहिलेकोजस्तो अत्याधुनिक छपाई मेसिन नभएको त्यो बेलामा लेटरप्रेसमा अक्षरहरु मिलाएर कम्पोज गर्नुपथ्र्यो । त्यो दु:ख साहित्यप्रतिको लगावले हराइदिएको थियो । त्यसै साल मेरो सम्पादनमा देशभरका कविहरुको कविता संकलन गरी संयुक्त कृति वर्तमान आवाजहरु प्रकाशन भयो । रचना संकलनको लागि ज्ञानुवाकर पौडेलदाईले धेरै मेहनत गर्नुभएको थियो ।

त्यतिबेलासम्म सिन्धुको साहित्य र साहित्यिक पत्रकारिता संस्थागत हुन सकेको थिएन । साहित्यप्रतिको लगाव र लहडका कारण मात्रै पत्रिकाहरु प्रकाशन हुन्थे, जसका कारण प्रकाशन हुने र बन्द हुने क्रम चलिरहेको थियो । यो अवस्थालाई मध्यनजर गर्दै संस्थागत विकास गर्नुपर्छ भन्ने धेयले हामीले (कञ्चन प्रियदर्शी र पंक्तिकार) दु:खी प्रकाशन नामक संस्था निर्माण गर्‍यौं । २०४७ मा संस्था निर्माण भएसँगै विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्‍यौं । नागरिकको चेतनामा परिवर्तन ल्याउन नाटक प्रदर्शन, सिर्जना वाचन, छलफल गर्ने मञ्चको रुपमा यसलाई विकास गर्दै लगियो । संस्था निर्माण गर्दा हामीले मुख्यत: स्रष्टाहरुको कृति प्रकाशन गर्ने उद्देश्यले सुरु गरेका थियौं । तर यसलाई प्रकाशनको घेराभित्र मात्र नराखी साहित्यका विविध पक्षहरुलाई समेट्दै लग्यौं ।



त्यो समय अहिलेजस्तो वाकस्वन्त्रताको अवस्था थिएन । लेख्न र बोल्न निक्कै कठिन थियो । भेला, सम्मेलन, छलफल गर्नसक्ने अवस्था थिएन । तैपनि हामीले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिइरह्यौं । यसैबीच संस्थाले २०४८ मा विप्लव नामक पत्रिका प्रकाशन गर्‍यो । तर राज्यको सदैव निगरानी र प्रशासनले यसमा कार्यरत साथीहरुलाई तारो बनाउने प्रवृत्तिले गर्दा पटक–पटक प्रकाशन बन्द गर्नुपर्ने अवस्था आयो । वि.सं. २०५० भन्दा अगाडि मात्रै यस प्रकाशनले विभिन्न स्रष्टाका ९ वटा कृतिहरु प्रकाशन गरिसकेको थियो ।

हामीले २०५१ को फागुन १५ मा जिल्लामै पहिलोपटक बृहत् सिन्धु साहित्य सम्मेलन गर्‍यौं । दु:खी प्रकाशनको आयोजनामा भएको सो कार्यक्रममा सुप्रसिद्ध गायक प्रेमध्वज प्रधानलाई अभिनन्दन गरिएको थियो । त्यो कार्यक्रमको आयोजक समितिमा कञ्चन प्रियदर्शी र पंक्तिकार थियौं भने १८ जना विभन्न व्यक्तित्वको समारोह समिति बनाई सम्मेलन सम्पन्न गरेका थियौं । विभिन्न चुनौतीका बाबजुद् पनि त्यो कार्यक्रमलाई भव्य बनाउन सफल भयौं, यसको सम्पूर्ण श्रेय त्यतिबेला निरन्तर लागिपर्नुहुने साहित्यिक व्यक्तित्वहरुलाई जान्छ ।

सम्मेलन सम्पन्न गरेको एकवर्ष नबित्दै देशमा राजनैतिक उथलपुथल सुरु भयो । राज्यले नागरिकको आवाज नसुनेको भन्दै बिद्रोह सुरु भयो । जसको प्रत्यक्ष असर सिन्धु साहित्यमा पनि पर्न गयो । राज्य पक्ष र तत्कालिन विद्रोही पक्षको दोहोरो मारमा सिन्धु साहित्य फस्टाउन सकेन । प्रकाशन सुरु गरेका पत्रपत्रिकाहरु बन्द भए । यसका बाबजुद् पनि हामीले समाचारमूलक पत्रिका सिन्धु सन्देशलाई भने निरन्ततरता दिइरह्यौं । सो पत्रिकामा पनि साहित्यलाई प्राथमिकता दिई प्रकाशन गर्ने जमर्को गर्‍यौ । साहित्यिक गतिविधि ठप्पप्राय: बन्न पुग्यो । यो अवस्थामा साहित्यमा लगाव भएका व्यक्तित्वहरु मिली नाटक, ओपेरा देखाउने काम गर्‍यौं । यो कार्य कम्ती चुनौतिपूर्ण थिएन ।

वि.सं. २०४७ सालबाट जुगल साहित्यिक पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेको मैले अहिलेसम्मको अवधिमा एक दर्जन पत्रिपत्रिकामा संलग्न हुने अवसर पाएको छु । जनमत, जमघट, जनआस्था जस्ता पत्रिकामा संलग्न भएर आफ्नो क्षमता बढाउने अवसर प्राप्त भयो । २०६८ जेठ १७ गते गोरखापत्र संस्थानको बोर्ड सदस्यमा नियुक्ति भएपछि संस्थाका अध्यक्ष एवम् साहित्यकार हरिगोविन्द लुइँटेलदाईसँगको सहकार्यको क्रममा संस्थानबाट प्रकाशन हुने मधुपर्क, गोरखापत्रको परिशिष्टाङ्क शनिबारबाट साहित्यको प्रबद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल र त्यो अनुरुप प्रकाशनमा सुधार ल्याउन पहल गरिएको थियो । यो पनि साहित्यको विकासमा एउटा इँटा हो भन्ने महसुस गरेको छु ।

दु:खी प्रकाशनका संस्थापक सदस्य कञ्चन प्रियदर्शीलाई २०५८ वैशाख १६ गते राज्यले बिद्रोहीको आरोपमा हत्या गरेपछि सिंगो सिन्धु साहित्य शोकमा डुब्यो । यसको केही वर्षसम्म सिन्धुमा साहित्यिक गतिविधि हुन सकेन् । पछिल्लो वर्षमा सिन्धु साहित्यमा केही आशालाग्दा कामहरु भइरहेका छन् । वर्षेनीजस्तो साहित्य सम्मेलनहरु हुन थालेका छन् । यसले नयाँ स्रष्टाहरुलाई प्रोत्साहन गरेको छ भने पुराना स्रष्टाहरुलाई सम्मान गर्ने परिपाटीको सुरुवात भएको छ ।

पछिल्लो पटक प्रथम बृहत् सिन्धु साहित्य सम्मेलन गरेको २६ वर्षपछि दु:खी प्रकाशनले दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन गर्‍यो । २०७७ असार ६ गते आयोजना गरिएको सम्मेलनमा जिल्लाका ६ स्रष्टा/पत्रकारलाई सम्मान गर्ने काम भयो । त्यस्तै जिल्लाकै ठूलो पुरस्कार राशीसहितको बागमती प्रदेशस्तरीय कविता प्रतियोगिता, बागमती प्रदेशको युद्ध साहित्य र सिन्धु साहित्यको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गर्ने काम भयो ।

सम्मेलनकै पूर्वसन्ध्यामा २०७७ असार ५ गते जिल्लामै पहिलो पटक प्रेस काउन्सिल नेपालको आयोजना र दु:खी प्रकाशनको संयोजनमा ‘साहित्यिक पत्रकारिता र पत्रकार आचारसंहिता’ विषयमा जिल्लामा क्रियाशिल साहित्यिक पत्रकार, विभिन्न सञ्चार माध्यममा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मी, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमला लगायतको उपस्थितिमा सिन्धुपाल्चोकमा साहित्यिक पत्रकारिताको विकासको बारेमा छलफल भयो । यसले पक्कै पनि सिन्धु साहित्य र साहित्यिक पत्रकारिताको विकासमा योगदान पुर्‍याउँछ नै ।

अन्त्यमा, सिन्धु साहित्य र साहित्यिक पत्रकारिताको विकासमा हामीले जे जति योगदान पुर्‍याउन सक्यौं यसले केही हदसम्म साहित्यको विकासमा टेवा पुर्‍याएको नै छ । इतिहासलाई आत्मसाथ गरेर अहिलेको अवस्थामा साहित्यलाई अगाडि लैजानसक्दा साहित्य क्षेत्रले गुणात्मकता पाउने प्रष्ट नै छ । विकासक्रमअनुसार मान्छेको जीवन परिवर्तनशील भएजस्तै भाषा–साहित्यको गतिविधिमा पनि परिवर्तन र विकास हुँदैछ । मान्छेको सोचाइको क्षमता, जीवनलाई सूक्ष्मातिसूक्ष्म केलाउने दृष्टि र अनुभवको व्यापकता पनि समयसँगसँगै परिवर्तनशील हुँदै, गहिरिँदै, विस्तृत हुँदै अघि बढ्छ । त्यसैले मानवजीवनको आन्तरिक र बाह्य स्वरुपको प्रतिबिम्बझैँ समाज र साहित्य पनि गतिशीलताको पछिपछि विकसित हुँदै जान्छ । आजभन्दा तीस–चलीस वर्षअघिको साहित्यको अवस्था र वर्तमान साहित्यिक गतिविधिको अध्ययन गर्ने हो भने यी दुई कालमा समानुपातिक प्रवाह पाइँदैन, आजको स्थिति कता हो कता विकसित भन्न सकिन्छ । तसर्थ सामूहिक भावनामा रही साहित्यिक श्रीबृद्धिमा जुट्ने हो भने सिन्धु साहित्य र साहित्यिक पत्रकारिताको भविष्य निक्कै उज्ज्वल देखिन्छ । यसमा सबै स्रष्टा र साहित्य क्षेत्रमा लागिरहनुभएको व्यक्तित्वहरुले अपनत्व महसुस गर्नु पर्दछ ।

000

https://janamatsahitya.com बाट 

Tuesday, July 15, 2025

साइबर साहित्य, रचना र रोचक घिमिरे - कृष्ण बजगाईं

 

 कृष्ण बजगाईं



‘रचना’ पत्रिका नेपालमा हुँदा फाट्टफुट्ट मात्र पढ्ने अवसर पाईयो । यसको मुख्य कारण त्यसको कमजोर वितरण प्रणाली र अनियमित प्रकाशन थियो । त्यति राम्रो र स्तरिय पत्रिका किन त्यस्तो तालमा प्रकाशन गरेको होला भन्ने लागि रहेको थियो ।

अचानक सोह« वर्ष अगाडि नेपाल छाडेर विदेश हान्निएँ । तन परदेशमा भए पनि मन घरदेश तिरै दौडिरहन्थ्यो । त्यतिबेला परदेशमा नेपाली अक्षर हेर्ने कत्रो तृष्णा हुन्थ्यो भनि साध्य थिएन । अझ त्यसमा पनि नेपाली साहित्य पढ्न खुब तल्तल् लाग्दथ्यो । तल्तल् मेटाउन नेपालबाट पत्रिका मगाएर टार्दै थिएँ । तर त्यो नियमित थिएन । इन्टरनेटको दुनियाँमा नेपाली अक्षर नियमित जसो खोजि रहन्थेँ । यसै क्रममा इन्टरनेटमा एक दिन अचानक ‘रचना’ साहित्यिक पत्रिका देखा पर्यो । त्यो देखेर खुशीको सिमा रहेन । हो त्यहीँबाट रामरी चिनेको हुँ रचना पत्रिका र रोचक घिमिरेलाई ।

पत्रिका पढेको केही दिनपछि इमेलबाटै मेरा सिर्जना ‘रचना’को लागि पठाएँ । अर्को अंकमा त्यो छापियो । छापिए पछि यो परदेशीको सिर्जनाले घरदेश मात्र होईन सारा संसारमा पाइला टेक्ने मौका पायो । यसको कारण थियो इन्टरनेटमा ‘रचना’ साहित्यिक पत्रिका जोडिनु । प्रिन्ट संस्करण भन्दा इन्टरनेटका पाठक सयौं गुणा बढी हुन्छन भन्ने समयको आवाज रोचक दाइले बुझेरै प्रविधि सँगसँगै रचनालाई पनि इन्टरनेटको दुनियाँमा पुर्याउनु भएको हो ।

तीन पुस्ताका स्रष्टासँग संगत गर्नु भएका र तीनै पुस्ताका स्रष्टाहरुका सिर्जना प्रकाशित गरेर लेखकलाई एउटा दह«ो जगमा उभ्याउनु भएको छ रोचक दाइले । हरेक पुस्तासँग उस्तै सहज र आत्मिय सम्बन्ध राख्न सक्ने र सबैलाई यथोचित अवसर दिने रोचक दाइको तारिफ गर्न चाहान्छु ।

बेलायत बसाई सर्नु अगि बेल्जियममा मेरो बसोबास थियो । उताबाट रोचक दाइसँग धेरै पटक फोनमा कुरा भए । साहै शिष्ट बोली र लेखनकर्मलाई हौसला दिने उहाँको त्यो स्वभाव नयाँ पुस्ताका सबै लेखकलाई प्रेरणाको स्रोतको रुपमा लिएको छु ।

उहाँसग प्रत्यक्ष भेट सन् २००७ को जनवरी महिनामा काठमाण्डौंमा भएको हो । खासमा त्यसबेला मेरो प्रथम साहित्यिक कृति ‘यन्त्रवत्’ लघुकथासंग्रहको बिमोचन कार्यक्रममा उहाँलाई निम्त्याएको थिएँ । कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो वरिष्ठ साहित्यकार रमेश विकल । कार्यक्रम अन्त्यसम्म रोचक दाइ बस्नु भयो । कार्यक्रम सकिएपछि साहै खुशी हुँदै बधाई दिनु भयो । त्यति मात्र हो उहाँसँगको प्रत्यक्ष भेटघाट । तर आधुनिक प्रविधिले हामीलाई यति नजिक ल्याइदिएको छ कि दिनहुँ प्रत्यक्ष नभेटे पनि साइबर संसारमा हामो भेटघाट भइरहेकै छ । हामो सम्बन्ध नविकरण गरिरहनु परेको छैन ।

सन् २००८ मा मैले संचालन गरेको वेब पत्रिका समकालीन साहित्य डटकमको लागि रोचक दाइसँग अन्र्तवार्ता गर्ने भएँ । म थिएँ परदेशमा उहाँ घरदेशमा ! प्रत्यक्ष अन्र्तवार्ता सम्भव थिएन । उहाँलाई केही पश्नहरु सोध्ने भएँ । जुन इमेलमा मेरा सिर्जना ‘रचना’ साहित्यिक पत्रिकाको लागि पठाउँदथे सोही इमेलमा अन्र्तवार्ताका प्रश्नहरु पठाएँ । दाइले बिलम्ब नगरी केही समयमै इमेलबाटै जवाफ फर्काउनु भयो । हामी बिचको सवाल जवाफलाई मैले समकालीनको वेबसाइटमा पोस्ट गरेँ । उहाँसँगको त्यो डिजिटल कुराकानी साहै« जानकारी मूलक थियो । निकै चर्चामा रहयो त्यो अन्तर्वार्ता । सवाल र जवाफको लय यसरी मिलेको थियो कि पढ्दा कसैले अनुमान गर्न सक्दैनथ्यो त्यो इमेलबाट गरिएको कुराकानी हो भनेर ।

पछि उहाँ जस्तै तेइस जना घरदेश र परदेशका सष्टाहरुसँग इमेलमा गरिएको कुराकानीलाई समेटेर ‘सष्टा र डिजिटल वार्ता’ भन्ने निक्कै मोटो पुस्तक प्रकाशित गरेँ । नेपाली साहित्यमा यसरी स्रष्टासँग इमेलमा गरिएको ‘डिजिटल वार्ता’लाई समेटर पुस्तक निकालिएको पहिलोपटक थियो । त्यो पुस्तकले त्यसबेला राम्रै चर्चा पाएको थियो ।

उहाँ जस्तो पुराना पुस्ताका सर्जकमा इमेल, इन्टरनेटको ज्ञान हुनु, त्यसलाई नियमित चलाउनु र देश देशान्तरसम्म आफनो पत्रिकाको डिजिटल कपी वितरण गर्नु भनेको आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै आफूलाई ‘अपडेट’ राख्नु हो । प्रत्यक्ष भेट हुन नसकिने पाठक र सर्जकसँग इमेलबाट सम्पर्कमा रहनु उहाँमा भएको आधुनिक चेतको परिणाम हो । समयानुकुल आफूलाई अपडेट गर्दै साहित्यिक पत्रिका ‘रचना’लाई साइबर संसारमा पुर्याउनु भएको छ । उहाँको यस्तो कार्यलाई नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा उहाँको पनि सानो हिस्सा रहेको कुरालाई स्वीकार गर्न असजिलो मान्नु हुँदैन ।

कैयौं पुरस्कार गुठी र साहित्यिक संघसंस्थाको नेतृत्व तहमा रहेर उहाँले देखाउनु भएको सक्रियताले ती संस्थाहरु जीवित र चलायमान छन । उहाँले सुरुदेखि आजका मितिसम्म रचना पत्रिकाको जुन स्तर कायम गर्नु भएको छ त्यो उहाँको कुशल सम्पादन कलाले मात्र सम्भव भएको हो । त्यसै पनि छोटो आयु हुने साहित्यिक पत्रिकाहरुको भिडमा रचना पत्रिकाले दीर्घ जीवन पाएर पाठकका बीच लोकप्रिय भएको छ । त्यो कठिन कार्य गरेर यतिका वर्षसम्म पत्रिकालाई निरन्तरता दिनु चानचुने कुरा होइन । उहाँका यस्ता कार्यहरु नयाँ पुस्ताका लागि अनुकरणीय छन् । उहाँ जस्ता पाको ब्यक्तिले लामो समयदेखि नेपाली साहित्यिक पत्रकारितामा जुन योगदान पुर्याउनु भएको छ त्यसको मूल्यांकन गर्ने बेला आएको छ ।

000

बेलायत

www.samakalinsahitya.com बाट साभार 

मरुभूमिमा पुष्पवृक्ष ‘आरब्ध’ - गोविन्द गिरी प्रेरणा


 हामीले बाँचेको समय सम्भवतः विज्ञान र प्रविधिले तीव्रतम गतिमा फड्को मारेको युग हो । हस्त लिखित पत्रिका, लिथो पत्रिका, लेटर प्रेसबाट प्रकाशन, अफसेट प्रविधि हुँदै अहिले डिजिटल दुनियाँको निर्माण भएको छ साहित्यिक पत्रिका प्रकाशनको क्षेत्रमा ।  मानिसहरू विश्वास गर्दछन्, अब दुनियाँमा मुद्रित पत्रिका पुस्तकको युग गयो । तर मुद्रणको युग कहिल्यै नजाने विश्वास गर्ने मानिसहरू पनि कम छैनन् । अहिले मुद्रित र डिजिटल दुवैको युग समानान्तर चलिरहेको छ ।

नेपालमा मुद्रण उद्योगले शिखर आरोहण गर्नै नपाई डिजिटल प्रविधिले प्रवेश पायो । अहिले डिजिटल दुनियाँले जितिसक्यो भन्नेहरू नेपालमा अत्यधिक सङ्ख्यामा भैसके । तर डिजिटल सामाग्रीको सुरक्षा र संरक्षणको विषयमा भने मौनता देखिएको छ । त्यसको सुरक्षा र संरक्षणका लागि महँगो मोल तिरेर अमेरिकासम्म गुहार माग्नु पर्ने अवस्था नेपालको डिजिटल दुनियाँले भोगेको आजको यथार्थ हो ।

म अमेरिकामा झण्डै २ दशकदेखि बसेको छु । यहाँ पनि डिजिटल दुनियाँले फड्को मारेको छ । तथापि मुद्रित सामाग्रीको कमी छैन । पहिल्यै मुद्रित पुस्तक पत्रिकाको किनबेचमा कमी छैन । पुराना पुरातात्त्विक महत्वका पुस्तक पत्रिकाको मोल महँगो देखिन्छ । नयाँ पुस्तक पत्रिकाहरू मुद्रित र ई बुक दुवैमा समानान्तर पाइन्छन्, आफ्नो इच्छानुसार पाठकले तिनको उपयोग गरेर रमाइरहेका छन् । साहित्यिक पत्रिकाहरू सयौं वर्षदेखि निरन्तर मुद्रित रूपमा प्रकाशन भइनै रहेका छन् । दृष्टान्तका लागि कवयित्री हेरियट मुनरोले सन् १९१२ मा स्थापना गरेर प्रकाशन हुन थालेको कविताप्रधान पत्रिका “पोयट्री” आजसम्म पनि मासिक रूपमा निरन्तर प्रकाशित भई नै रहेको छ । त्यति मात्र होइन, नयाँ नयाँ साहित्यिक पत्रिकाहरू पनि बर्षै पिच्छे जसो प्रकाशन भइरहनु, सुखद पक्ष हो । किनभने साहित्यकारको लागि साहित्यिक पत्रिका ठूलो मञ्च हो, प्रकाशन यात्राको लागि । पुस्तक प्रवर्द्धनका लागि । साहित्यिक बहसका लागि । साहित्यिक पत्रिकाको कुनै विकल्प छैन । साहित्यिक पत्रिका सुस्त भए साहित्यिक जगत् सुस्त हुन्छ । साहित्यिक पत्रिका साहित्यकारहरूको सामूहिक भेटघाटको थलो हो, क्याफे हो, मञ्च हो, रङ्गमञ्च हो ।

नेपालको सन्दर्भमा साहित्यिक पत्रिकालाई संस्थागत स्वरूपमा लामो इतिहास बनाउन सदा हम्मे हम्मे पर्यो । साहित्यिक पत्रिका प्रकाशनलाई शोख, व्यक्तिगत रुचि, लहड मानेर यसलाई आंशिक समय मात्र दिने साहित्यिक पत्रिकाका सम्पादक प्रकाशक र साहित्यिक पत्रिकालाई महत्त्व नदिने सरकार अनि निजी उद्योग व्यवसायीहरूमा पनि साहित्यलाई खासै महत्त्व दिने चेतनशील मानसिकता नभएकाले साहित्यिक पत्रकारिताले कहिल्यै व्यावसायिक फड्को मार्ने र संस्थागत स्वरूप हासिल गर्ने अवस्था रहेन । केही वर्ष यता पुरानै साहित्यिक पत्रिकाहरू घस्री घस्री चलिरहेको परिप्रेक्ष्यमा द्वैमासिक पत्रिका “आरब्ध” को प्रकाशनलाई मैले मरुभूमिमा उम्रिएको पुष्पवृक्ष मानेको छु । यसलाई साहित्यको क्षेत्रको एक सुखद घटना मान्न सकिन्छ ।

लामो समय गोरखापत्र संस्थानको आधिकारिक साहित्यिक पत्रिका “मधुपर्क” को सम्पादनमा संलग्न साहित्यकार जयदेव भट्टराईको अग्रसरतामा उनैको सम्पादन र सुरेशदेव भट्टराईको प्रकाशनमा यो पत्रिकाको पहिलो अङ्कले पाठकको स्पर्श पाएको छ ।

यो प्रवेशाङ्कमा कविता, निबन्ध, समालोचना, कथा-लघुकथा, हास्यव्यङ्ग्य, अनुवाद, समर्पण र संस्कृति अन्तर्गत साहित्यिक साँस्कृतिक रचनाहरू समावेश गरिएका छन् ।

यस अङ्कमा शैलेन्द्र साकार, राजेश ढुङ्गाना, सुमन थापा सङ्गम, तथा अमृता स्मृतिका कविताहरू समाविष्ट छन् ।

शैलेन्द्र साकारको “मसँग प्रश्नहरू छन्” कविता उनको हालैको अमेरिका भ्रमणको बेला लेखिएको लामो कविताको एक अंश हो जसले त्यहाँ उनले अनुभूत गरेका कुरालाई काव्यात्मक अभिव्यक्ति दिएका छन् ।

एकदिन अनायास मेरो आँखा

उनले गुडाइरहेको बच्चादानी भित्र पर्छ

जहाँ छैनन् कुनै बच्चा

बरु छन् भर्खर जन्मेका दुई

बिरालाका बच्चाहरू

ताकिरहेका छन् आफूलाई हेर्नेहरूलाई

आश्चर्यपूर्वक

मसँग प्रश्नहरू छन्

मानिसहरूभन्दा इतर

अरू कुनै जीवसँग

गाँसिंदैछ कि माया

मान्छेले चाहनुपर्ने मान्छेलाई

तर त्यो भङ्ग हुँदैछ “

मानिसहरू मान्छेलाई भन्दा पशुलाई किन माया गर्छन्, किन मान्छेमा भन्दा पशुमा तिनको स्नेह फैलँदो छ, कविको प्रश्न छ । मान्छेको समवेदनाको श्रोत कतातिर पोखिंदैछ, कविको प्रश्न छ । राजेश ढुङ्गानाको कविता “लेन देन ?” पनि मान्छेकै विषयमा छ । मान्छेहरूको सम्बन्ध के लेनदेनमै सीमित हो ? अनि लिने र दिने दुवै रित्तिंदा कसलाई के दिने कविको प्रश्न छ । सुमन थापा सङ्गमको “जीवन एक साइकल यात्रा” पनि मान्छेकै जीवनसँग सम्बन्धित छ । मान्छेको जीवन कुम्हालेको चक्रझैं घुमिरहन्छ भन्ने आहानलाई कवयित्री सुमनले साइकल चक्रको नयाँ उपमा दिएकी छिन् । अर्को कविता अमृता स्मृतिको “म जन्मिरहन्छु” ले प्रेमिल भावनालाई शाश्वतताको स्वरूपमा ढाल्न खोजेको छ ।

निबन्ध विधाका एक हस्ती तेजेश्वरबाबु ग्वँगको एक मात्र लघु निबन्ध छ यस अङ्कमा “आत्म आलिङ्गन” । यो उनको सोचाइको एक झमटमा उब्जेको भावनाको एक अँजुली अभिव्यक्ति अनुभूत हुन्छ ।

निबन्धकै अर्को स्वरूप हास्यव्यङ्ग्य पछिल्लो समय चाउरिंदै गएको छ नेपाली साहित्यमा । यसै परिप्रेक्ष्य हास्यव्यङ्ग्यका स्थापित व्यक्तित्व चोलेश्वर शर्माको “धानको बाला/माला झुल्यो हजुर” महत्त्वपूर्ण छ । लामै समयको मौनतापछि हालसालै पुनः लेखनमा बौरिएका चोलेश्वर शर्माको यो निबन्ध हास्य कम व्यङ्ग्य बढी निबन्ध हो ।

कथा लघुकथामा कृष्ण गौतम तथा रमेशजङ्ग थापाका क्रमशः “बन्दोबस्त” र “सेराव ग्यामसो” भागिरथी श्रेष्ठका २ लघुकथा  “अर्दली” र “कालो समय” र हरिहर पौडेलको सूत्रकथा “बर्षौंपछि” रहेका छन् ।

समालोचना अन्तर्गत प्रा.डा. रामचन्द्र पोखरेलको “नेपाली रङ्गमञ्चमा सडक नाटकको योगदान” तथा डा. वीरेन्द्र पुडासैनीको “आख्यानमा समय र अन्तरिक्ष” प्रकाशित छन् ।

प्रा.डा. रामचन्द्र पोखरेलको “नेपाली रङ्गमञ्चमा सडक नाटकको योगदान” समालोचनामा उनले सडक नाटकको लामै नालीबेली प्रस्तुत गरेका छन् । त्यस्तै डा. वीरेन्द्र पुडासैनीले “आख्यानमा समय र अन्तरिक्ष” समालोचनामा आख्यानमा पाइने समय र अन्तरिक्षको सैद्धान्तिक पक्षहरूलाई प्रस्तुत गरेका छन् ।

कृति चर्चा अन्तर्गत “पवनकुमारीदेवीको औपन्यासिक योगदान” का बारेमा शिव प्रसाद भट्टराईको आलेख छ जसलाई एक प्रकारले समालोचना नै मान्न सकिन्छ ।

समर्पण अन्तरगत जयदेव भट्टराईको हालै दिवङ्गत नेपाली कथा साहित्यका हस्ती परशु प्रधानबारे शब्द श्रद्धाञ्जली “स्मृतिमा परशु दाइ” प्रकाशित छ । यसमा परशु प्रधानको साहित्यिक योगदान संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । यो स्तम्भको नाम समर्पण कति ठिक छ, पुनर्विचार गर्नु पर्छ कि ?

संस्कृति अन्तर्गत गणेश वाम्बुले राईको “किरात राई जातीलाई एकसूत्रमा बाँध्ने साकेला संस्कृति” लेख प्रकाशित छ, जसमा निकै महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ ।

यस अङ्कमा मेक्सिकाली लेखक ग्रेगोरिया लोपेज फ्युन्टाज (ग्रेगोरियो लोपेस फुयान्तेस ?) को विश्वविख्यात कथा “ईश्वरलाई चिठी” ( A letter to God) को बद्रीप्रसाद घिमिरेले गरेको नेपाली अनुवाद प्रकाशित छ ।

यो अङ्कमा मलाई शैलेन्द्र साकारको कविता, जयदेव भट्टराईको परशु प्रधानमाथिको लेख, शिवप्रसाद भट्टराईको कृति चर्चा, गणेश वाम्बुले राईको संस्कृति उम्दा, रोचक र विशेष पठनीय लागे ।

यो पहिलो अङ्क भएकाले यस पत्रिकाका लागि केही सुझाव दिन मन लाग्यो:

१, आवरण कलाका कलाकारको परिचय विस्तृत नै भयो । अलिक संक्षिप्त गर्दा पनि फरक नपर्ला।

२, सबै रचनाकारको ३ हरफसम्मको परिचय राख्न सके बेस होला ।

३, विषयसूचीमा रचनाको विधा र रचनाकारको नामसँगै रचनाको शीर्षक भए अझ बेस होला ।

४, अनुवाद रचनाको साथमा विदेशी लेखकको परिचय पनि दिनु उचित हुन्छ ।

५, निबन्ध, हास्यव्यङ्ग्य, सांस्कृतिक लेखलाई निबन्ध खण्डमै राख्दा पनि फरक नपर्ला ।

६, स्तम्भहरूको पनि एक खण्ड बनाउनु पनि उचित होला ।

आरब्ध” द्वैमासिक पत्रिकाको स्तरबृद्धि र दीर्घजीवनको हार्दिक शुभकामना !

000

https://sahityapost.com बाट साभार